प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ ।
काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।
विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै ३ वर्षदेखि सार्वजनिक हुन नसकेको काउन्सिलले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ को वर्गीकरणको लागि ८८३ पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन दिएको काउन्सिलले जनाएको छ ।
आवेदन दिएकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएको काउन्सिलले जनाएको छ । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् ।
वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, ३ अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएको काउन्सिलले जनाएको छ । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, ७ वटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् ।
५८ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेको काउन्सिलले जनाएको छ । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ को वर्गीकरणको लागि ८७८ पत्रपत्रिकाले आवेदन दिएको काउन्सिलले जानकारी दिएको छ । त्यसमध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् ।
वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, २ अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र ८ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् ।
५७ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु परेको काउन्सिलले जनाएको छ । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।
काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ ।
पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।
पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लङ्घनका घटनाहरू बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चार माध्यमहरूले गैरजिम्मेवार भइ समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाइ सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले यसतर्फ गम्भीर भइ स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ ।