युक्रेनको आपतकालीन सेवासम्बन्धी निकायले किएभ टेलिभिजन टावरमा रुसले आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ ।
बीबीसीका अनुसार रुसले युक्रेनमा लक्षित हमला गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि आक्रमण गरेको हो । उक्त आक्रमणमा परी अरु पाँच जना घाइते भएको समाचारमा बताइएको छ ।
आक्रमणबाट टेलिभिजनका केही प्रसारण रोकिएका छन् । त्यस्तै यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा पनि क्षति पुगेको छ ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडियो लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् ।
उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए ।
मंगलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ ।
मङ्गलबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।