नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'अहिले मुलुक विसम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरू एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।'
'कोभिड १९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्नलगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,' उनले भने ।
आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरूको एउटै आवाज पाएको र उनीहरू सबैले स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका औँल्याएका बताउँदै ढकालले यदि स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाइ भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने बताए ।
छोटो समयमा पर्यटन पूर्वाधारको विकासबारे आफ्नो अनुभव सुनाउँदै, ढकालले भने यदि स्थानीय व्यवसायीहरूले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन श्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वको तर्फबाट मात्र नभइ आईएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षको रूपमा समेत सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रसंशा गर्दै, उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।