नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन् ।
काभ्रेको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै सिंहले काम गर्नेलाई प्रोत्साहित गर्दै भाषण कम विकासमा बढी काम गर्नुपर्ने बताएका हुन् ।
'नेपाली समाजलाई भाषण र उखान, टुक्का मनपर्ने बनाइयो, यस्तो गर्नुहुन्न, भाषण कम, काम बढी गर्नुपर्छ अनिमात्रै विकासले गति लिन्छ,' सिंहले भने ।
उनले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्नेमा त्यसो नभइरहेको गुनासो दोहोर्याए। 'सबै क्षेत्रमा राजनीति पनि गर्नु हुँदैन, उद्योगलाई पनि प्रोत्साहन गर्दै विकासलाई सबै दलले प्राथमिकता दिनुपर्छ,' उनले भने ।
नेता सिंहले विकासको सवालमा कसैलाई दोष लगाएर नपन्छिने आग्रह गरे । 'प्रजातान्त्रिक संस्कार विकसित गर्दै विकासमा कांग्रेस–कम्युनिष्ट भन्नु हुँदैन, सबै मिलेर देश बनाउने हो,' उनले भने ।
अधिकार प्राप्तका सवालमा सबै मिलेजस्तै विकासे अभियानमा प्रस्पिर्धा गर्न उनले सुझाए ।
नेता सिंहले शिक्षा क्षेत्र पार्टी विशेष नहुने बताउँदै नेपालमा उत्पादित दक्ष जनशक्ति स्वदेशमै परिचालन गर्नुपर्ने बताए । उनले भने, 'जमाना प्रविधिको छ, प्रविधियुक्त जनशक्तिले स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ ।'
शैक्षिक संस्थाले शैक्षिक नीति र समयानुकूल पाठ्यक्रम विकासमा योगदान पुर्याउनुपर्ने उनको तर्क थियो ।