नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस हुने बताएका छन् ।
विराटनगरमा आइतबार प्रचण्डले एमसीसी पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणा गरे ।
पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले एमसीसीबारे पार्टीमा फरक बुझाई रहेको स्वीकार गरे । एउटा अपिलमार्फत् साझा भाषा बनाएर निर्वाचनमा जाने निर्णय पार्टी केन्द्रीय समितिले गरेको उनको भनाइ छ ।
व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने उनको चेतावनी थियो । सार्वभौम संसदको निर्णय कार्यान्वयनको विकल्प नभएको प्रचण्डले बताए ।
स्थानीय तहको निर्वाचनमा आफ्नै संगठन बलियो बनाएर होमिने जानकारी दिँदै प्रचण्डले मुद्दा र आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए ।
गठबन्धनका दलहरूबीच नै स्थानीय तहको चुनावमा तालमेल गर्न पहल गर्ने उनको भनाइ छ ।
कांग्रेसका कतिपय नेताहरूले गठबन्धन गर्नुहुँदैन भन्नेगरी दिएको अभिव्यक्ति आन्तरिक पार्टी जीवनमा आफू सुरक्षित हुनका लागि भएको आफूले बुझेको बताउँदै प्रचण्डले त्यस्तो मतबारे पार्टीभित्रै छलफल गर्न सुझाब दिए ।
तर, शतप्रतिशत गठबन्धन हुन्छ र त्यही अनुसार चुनावमा जान्छौं भन्ने कुरा सही नभएको उनको भनाइ छ ।
आफ्ना पार्टीका केही नेता र कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा प्रवेश गरेकोप्रति आश्चर्य प्रकट गर्दै प्रचण्डले एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु अनौठो र लाजमर्दो भएको टिप्पणी गरे ।
एमसीसीकै कारण पार्टी छाड्ने भए विप्लवदेखि विजुक्छेसम्मको पार्टीमा जान उनले सुझाब दिए ।
‘केही साथीहरुको अचम्म के लाग्छ भने एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाहिँ अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकामा जानु, कि किरणजीकोमा जानु, विप्लवकोमा जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि,’ उनले भने ।
मोरङको रंगेलीका मेयर दिलिप बगडियाको एमाले प्रवेशबारे सोधिएको प्रश्नमा प्रचण्डले यसअघि नै गइसकेका र खुट्टा उचालेकाहरूले पार्टी छोड्दा खासै फरक नपर्ने बताए ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले गठबन्धन दलहरुबीच केन्द्रमा बनाएजस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भइसकेको बताए ।