नेकपा माओवादी केन्द्र सिन्धुलिको नवनिर्मित पार्टी कार्यालय भवनमा सर्वसाधारण नागरिक बस्न थालेका छन् ।
पार्टी कार्यालय भवन निर्माणमा मुख्य भूमिका खेलेका जिल्ला इन्चार्ज राजन दाहालले पार्टी कार्यालयको उद्घाटनका दिन पार्टी कार्यालयमा अतिथि आवास कक्षको व्यवस्था गरेर गाउँका गरिब तथा विपन्न नागरिकलाई सदरमुकाम आउँदा खाना र बासको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडि दाहालले गरेको उक्त घोषणा अहिले कार्यान्वयनमा आउन थालेको छ । पार्टी कार्यालय भवन उद्घाटन भएको भोलिपल्ट देखि नै पार्टी कार्यलयको अतिथि आवास कक्षमा गाउँका गरिब र विपन्न नागरिक बास राखिएको इन्चार्ज दाहालले बताए ।
उनका अनुसार अहिले विभिन्न काम विशेषले गाउँबाट सदरमुकाम आएका तर बर्थिक अभावकै कारण अन्यत्र होटलमा बास बस्न नसक्ने नागरिक पार्टीको अतिथि आवास कक्षमा आफैँले खाना बनाएर खाने र राति बास बस्ने गर्छन् ।
बुधबार स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आएका दुधौलीका १० जनाभन्दा बढी युवाहरूलाई आवास कक्षमा बास बस्न दिइएको दाहालले बताए ।
'गाउँबाट अड्डा अदालत, मुद्दा मामिला, नागरिकता, पासपोर्टलगायत विभिन्न समस्या लिएर नागरिकहरू सदरमुकाम आउँछन् । जो गरिब छन् विपन्न छन् । उहाँहरूको सेवाको लागि आवास कक्षको व्यवस्था गरेका हौँ,' दाहालले भने ।
राजनीतिक दलहरूले राजनीतिक कार्य मात्र नभइ सामाजिक भूमिका पनि निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले यो आवासको व्यवस्था मिलाइएको दाहालले बताए । माओवादी पार्टीको आफ्नो बर्ग गरिब, विपन्न नागरिकलाई गर्नुपर्ने सेवाभाव गर्ने लक्ष्य राखेर आवास तयार गरिएको उनले बताए ।
आवास कक्षमा चाहिने खाद्यान्नलगायतका सरसामान पार्टीका हुनेखानेहरूले सहयोग गर्ने र त्यो सरसामान आवास कक्षमा बस्ने गरिब नागरिकले पकाएर खाने व्यवस्था गरिएको उनले बताए ।
म्यादी प्रहरीमा भर्ना हुन दुधौली नगरपालिका १० बाट आएका लालबहादुर परियार एउटा पार्टीले आपतविपतमा परेका नागरिकलाई खाने र बस्ने सुविधा दिएकोमा खुसी व्यक्त गरे ।
रेडियो विजयकिल्ला डटकम डट एनपीबाट