नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले यसपटकको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी वामपन्थीहरूमा सबैभन्दा ठूलो शक्ति बन्ने रिपोर्ट सुनाएका छन् ।
प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश तथा एसोसिएट प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले उक्त रिपोर्ट सुनाएका हुन् ।
पुनले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले कम्तिमा २ सय पालिकामा प्रमुख जित्ने रिपोर्ट आएको सुनाए । पुनका अनुसार माओवादीले गठबन्धनबिना नै २ सय पालिका जित्ने रिपोर्ट आएको छ ।
माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएकोले जनतामा माओवादीप्रतिको विश्वास बढेको उनको भनाइ थियो ।
'कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट पाँच भएका स्थानीय तहमा माओवादी केन्द्रले जितेका मात्रै तीन वटा छन्,' पुनले भने, 'माओवादीले जितेका स्थानीय तहले जनताको पक्षमा काम गर्न थालेपछि पहिलेको भन्दा जनआधार बलियो भएको छ ।'
आफ्नो पार्टीले जनताको पक्षमा आवाज उठाइरहेकाले पनि निरन्तर आक्रमण हुने गरेको बताए । माओवादीलाई कमजोर नबनाएसम्म परिवर्तनपछि प्राप्त उपलब्धी कमजोर पार्न सकिँदैन भनेर माओवादीमाथि आक्रमण भइरहेको उनले बताए ।
उनले केही सहरी इलकामा माओवादी रक्षात्मक देखिएको भए पनि मुलुकभरको विश्लेषण गर्दा माओवादीको लोकप्रीयता बढेको रिपोर्ट सुनाए । 'हाम्रा पार्टी सदस्यहरूको संख्या ८ लाखभन्दा बढी पुगेको छ,' पुनले भने, 'तर, पनि माओवादीलाई कमजोर देखाउन यो पार्टीमाथि निरन्तर आक्रमण भइरहेको छ । यसले पनि पुष्टि गर्छ माओवादी कति बलियो छ भनेर ।'
चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका स्थानमा माओवादीले सजिलै जित्ने पुनको भनाइ छ ।
२०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन गर्नु आवश्यक नपर्ने पुनको दाबी छ । यद्यपि गठबन्धन हुँदा सिट संख्या बढ्ने भएकाले आफूहरू गठबन्धनको पक्षमा उभिएको उनले बताए ।
एमाले पहिलो पार्टी हुने अवस्थामा नरहेको रिपोर्ट एमालेकै नेताहरूबाट आएको पुनले खुलासा गरे । एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा त्यस्तो रिपोर्ट आएको उनको भनाइ छ । तर, एमालेले बाहिर कसैले नपत्याउने प्रचार गरिरहेको बताए ।
'पार्टी फुटेको बेलामा पनि एमालेका नेताहरू ६०-७० प्रतिसत जित्छौँ भन्नुहुन्छ । यस्तो कुरा पनि पत्याउन सकिन्छ ? पार्टी फुट्ने अनि ७० प्रतिशत जित्ने पनि कहिँ हुन्छ ?' उनले भने ।
पुनले मुलुक माओवादीकै एजेण्डामा अघि बढेको बताए । 'जसको नीति उसैको नेतृत्व हुनुपर्थ्यो, त्यसो हुन सकेको छैन । यसमा हाम्रो पनि केही कमजोरी रहे । खासगरी पार्टी सञ्चालनमा हामीले युद्धकालीन शैली अपनाउँदा सोसोलाइज हुन सकेनौँ,' पुनले भने, 'यो बीचमा हामीले आफूलाई धेरै नै परिमार्जन गरेका छौँ । अब जनताको मत लिएर हाम्रो नीति र हाम्रै नेतृत्व स्थापित गर्छौं ।’
कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले आवश्यक निर्देशन दिएका थिए ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज महेश्वर दाहाल, प्रचार विभाग सचिव गोविन्द आचार्य, संगिता खड्का, मनोज घर्ती, अर्थमन्त्रीका सञ्चारविज्ञ अजित अधिकारीलगायतको उपस्थिति थियो ।