नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभरि माओवादीप्रतिको आकर्षण बढ्दै गएको बताएका छन् ।
बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको देख्छु । म देशभरि घुमेको छु । यसो भनेर म कुनै अहंकार गर्दै छैन ।’
प्रचण्डले माओवादी केन्द्रले देशमा आउने प्रत्येक समस्यामा संकट मोचनमा भूमिका खेल्दै आएको भए पनि केहीलाई स्वीकार गर्न अफ्ठेरो पर्ने विचित्र अवस्था रहेको बताए । देशलाई राजनीतिक अफ्ठेरोबाट बचाउनेमा माओवादी नै भएको उनको भनाइ छ ।
प्रचण्डले अधिकांश जनतामा माओवादीको भूमिकालाई बुझ्ने बुझाइमा वृद्धि भएको पनि बताए । गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा कुनै दुविधा नरहेको उनको भनाइ छ ।
‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौँ । निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौँ,’ प्रचण्डले भने ।
‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब–करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौँ,' उनले भने, 'आगामी निर्वाचनलाई शान्तिपूर्ण र स्वच्छ रुपमा होस् । परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ ।’
अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने उनले स्पष्ट पारे ।