नेपाली कांग्रेसले स्थानीय तह चुनावमा नेताहरूलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।
यस्तै कांग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
कांग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने जनाएको छ । सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मेदवारलाई आसन ग्रहण र अरूलाई सामूहिक आसन ग्रहण गराउन निर्देशन दिएको छ ।
यस्तै कांग्रेसले चुनावी सभामा आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौनधारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनुपर्ने छ ।
चुनावी सभा गर्दा आचारसंहिता उलङ्घन नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ । ‘मञ्चमा ब्याच वितरण नगर्ने, चुनाव चिह्न भएको टोपी, टिसर्ट, गम्छालगायत सामग्री प्रयोग नगर्ने’ निर्देशनमा भनिएको छ ।
यस्तै भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क, जिल्ला सम्बद्ध, अनुगमन तथा मूल्यांकन, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता तथा अनुगमन उपसमिति गठन गर्ने पनि निर्णय गरिएको छ ।