चितवनको भरतपुर महानगरपालिका- १७ बेलुवा टोलका ५० जना कांग्रेस नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिने घोषणा गरेका छन् । अबदेखि स्वतन्त्र अभियानमा लाग्ने भन्दै उनीहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
नेता-कार्यकर्ताको सामूहिक राजीनामामा स्थानीय प्रकाश कँडेलले अगुवाइ गरेका थिए । उनीहरूले सामूहिक राजीनामा दिनका लागि शनिबार एक औपचारिक कार्यक्रम नै आयोजना गरेका थिए । सोही कार्यक्रमबाट उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले अब आफूहरू स्वतन्त्र रूपमा रहने घोषणा गरेका छन् । पार्टीका नेताहरू स्वार्थकेन्द्रित राजनीतिमा लिप्त भएको आरोप लगाउँदै उनीहरूले पार्टी छाडेका छन् ।
चितवनका कांग्रेस नेताहरूले पार्टीका शीर्ष नेताहरूलाई भरतपुर महानगरको प्रमुख माओवादीलाई नछाड्न पटक-पटक दबाब दिँदै आएका थिए । तर, सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई छाड्ने लगभग सहमति भइसकेको अवस्था छ ।
अघिल्लो स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । सो समयमा महानगरपालिकाको मेयरमा कांग्रेसले माओवादी केन्द्रलाई छाडेको थियो ।
त्यसपछि भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएपछि चितवनमा कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको थियो । त्यसबखत चितवनमा कांग्रेसले राप्रपालाई उक्त क्षेत्र छाडेको थियो ।
जसका कारण चितवनका कांग्रेस नेताहरू पार्टी नेतृत्वसँग रुष्ट बनेका हुन् । पटक-पटक गठबन्धनका नाममा चितवन छाड्दा कांग्रेसका मतदाताहरूले रुखमा भोट हाल्न बिर्सने सम्मका चिन्ता जाहेर भएका थिए ।
यसपटक चितवन आफैँले लिन र त्यो सम्भब नभए एक्ला-एक्लै लड्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । तर, आफूहरूको दबाब पार्टी नेतृत्वले सुनुवाइ नगर्ने छनक पाएपछि चितवन कांग्रेसका नेताहरू पार्टी नेतृत्वसँग असन्तुष्ट छन् ।