महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् ।
माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प्राप्त गरे । उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भइन् ।
महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन् ।
क्षेत्रीले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए । कांग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खेसेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनाएको थियो ।
क्षेत्रीले कांग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।
खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको । उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले कांग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।
उनको प्यानलले माओवादी, नेकपा एमाले, कांग्रेस, जसपालगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिह्न पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिह्न लिएका उम्मेदवारले १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।