नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएको छन् ।
मध्यपुर थिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् ।
'निर्वाचनअघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईंहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ,' प्रचण्डले भने ।
उनले मध्यपुर थिमि भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए ।
मध्यपुर थिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरूलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो ।
'त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाई सूचना लगायतका तपाईंहरूका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईँहरू आउनुभएको छ,' उनले भने ।
प्रचण्डले विजयी जनप्रतिनिधिहरूलाई अब राम्रो काम गर्ने चुनौती रहेको तर्फ सचेत पनि गराए । उनले मध्यपुर थिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको भन्दै अगाडि भने, 'हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ ।'