संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गरिने भएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली सङ्कलन गर्न लागेको हो ।
निर्वाचन आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ सम्म मात्रै हुने आयोगको ठहर छ । यसैले मिति घोषणा छिट्टै हुने भएकाले छुटेकाहरूको नामावली पहिल्यै सङ्कलन गर्ने तयारी रहेको जनाइएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनअघि मङ्सिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो ।
मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए । ०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन गरिएको थियो ।
प्रतिनिधिसभाको निर्वाचन ०७४ मंसिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो । आयोगले परिणाम आएको दिनदेखि ५ वर्षे कार्यकाल शुरु भएको मानेर यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराइसकेको छ ।