स्वतन्त्र राजनीतिकर्मी (Independent Politician) का बारेमा बल्ल बहस हुन थालेको छ । रवि लामिछानेले स्वतन्त्र शब्दको प्रयोग गरेर राजनीतिक दलको नामाकरण गरेपछि त मलाई धेरै फेसबुक म्यासेज आउन थालेको छ : गनेसजी, स्वतन्त्र भनेर दल खोल्न मिल्छ ?
संसारभर स्वतन्त्र राजनीति र राजनीतिकर्मीका बारेमा अनेक बुझाइहरू प्रचलित छन् । जसमध्ये केही यस्ता छन् :
१) आफ्नो विचारअनुसारको दल नभएको हुनाले र उक्त विचारअनुसारको दल बनाउन रुचि नभएको हुनाले स्वतन्त्र रहेको व्यक्ति र उसको समूहले गर्ने राजनीति ।
२) आफ्नो राजनीतिक विचारअनुसारको दल पहिल्यैदेखि विद्यमान भए पनि उक्त दलको चालामाला मन नपरेर दलभित्र बाँधिन अनिच्छुक नागरिकले गर्ने राजनीति ।
३) कुनै दलको सदस्य भएर बसिसकेको वा बसिरहेको तर उक्त दलको सदस्य हुँ भनेर चिनाउन वा चिनिन नचाहने, आफ्नै निजी पहिचान र परिचयलाई महत्व दिने व्यक्तिले गर्ने राजनीति ।
४) कुनै दलको सदस्य वा परिचित नेता भए पनि आफ्नै पार्टीको नीति र निर्देशनलाई पालना गर्न इन्कार गर्नसमेत पछि नपर्ने, व्यक्तिगत ज्ञान, अनुभव र अभिरुचिका आधारमा निर्णय लिने व्यक्तिले गर्ने राजनीति ।
५) पार्टीले टिकट दिँदा अन्याय गरेको महशुस गरी सदस्यता परित्याग गरी अलग चुनाव चिह्नमा निर्वाचनमा खडा हुने व्यक्तिले गर्ने राजनीति ।
अब यी प्रश्नमा जाउँ ।
के स्वतन्त्र शब्द राखेर दल खोल्न मिल्छ ? के स्वतन्त्रहरूको छुट्टै दल हुन सक्छ ?
सक्छ । कहिलेकाँही स्वतन्त्र राजनीतिज्ञहरू एकसाथ उस्तै मुद्दा लिएर चुनावी मैदानमा आउन पनि सक्छन् । (यसअघि स्थानीय तहको निर्वाचनमा भएको जस्तो ।) कहिलेकाँही स्वतन्त्रहरूले कुनै मोर्चा, संजाल वा समूह बनाएर एकसाथ एउटै चुनाव चिह्न लिएर चुनावमा जान सक्छन् । निर्वाचन आयोगले यस्तो मोर्चालाई पनि एउटै चुनाव चिह्न दिने र समानुपातिक मतभित्र सामेल गर्ने प्रबन्ध गरेमा यस्तो हुनसक्छ । विभिन्न देशमा यस्तो गरिएका उदाहरण पनि छन् ।
कहिलेकाँही स्वतन्त्रहरूले राजनीतिक दल नै दर्ता पनि गर्न सक्छन् । यसरी बन्ने दलले आफूलाई राजनीतिक विचारका आधारमा भन्दा पनि मुद्दाका आधारमा स्थापित गर्ने गर्छन् । कतिपय वैकल्पिक राजनीति गर्ने भनेर खोलिएका नेपालका दलहरू खासमा ‘स्वतन्त्र राजनीतिज्ञ’हरूले बनाएकै दल थिए । पार्टी गठनका बेलामा भारतको आदमी पार्टी (हदसम्म अहिले पनि) पनि स्वतन्त्र राजनीतिज्ञहरूकै दल थियो ।
परम्परागत राजनीतिक पार्टीहरू विचार र त्यसले गर्ने आन्दोलनबाट स्थापित हुन्छन् भने स्वतन्त्र पार्टीहरू नागरिक सरोकारका बिषय र जनजीविकाका मुद्दा उठाउने अभियानबाट स्थापित हुन्छन् ।
नोट : म रविजीको पार्टीमा संलग्न छैन । शुभेच्छा छ ।