काठमाडौं । लामो समय रोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । गत साउन १३ गतेदेखि स्थगित भएको नेकपाको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटीको बैठक सुचारु गर्न सहमत भएपछि बैठक बस्न लागेको हो । खासगरी नेककपामा विवाद चर्कंदै गएपछि स्थायी कमिटीको बैठक स्थगित भएको थियो ।
विवाद बढ्दै जाँदा स्थायी कमिटीका सदस्यहरु पनि सोही विषयमा केन्द्रित भएका थिए । जसमा प्रधानमन्त्री ओली असजिलो अवस्थामा थिए । त्यसकारण उनी स्थायी कमिटीको बैठक सुचारु गर्न इच्छुक देखिएनन् । फलस्वरुप बैठक स्थगित हुँदै आएको थियो ।
यद्यपी पार्टीका महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेर पार्टीको आन्तरिक विवाद तत्कालका लागि समाधान गरेपछि स्थायी कमिटी बैठक पुनः सुचारु गर्न अध्यक्षद्वय सहमत भएका हुन् ।
यद्यपी कार्यदलले पार्टीको विवाद समाधानका लागि बुझाएको प्रतिवेदनप्रति स्थायी कमिटी सदस्यहरुको कस्तो प्रतिक्रिया हुन्छ भन्ने हेर्न भने शुक्रबार सम्म प्रतिक्षा गर्नुपर्ने भएको छ ।
स्थायी कमिटीले पनि कार्यदलको उक्त प्रतिवेदन स्वीकार गरेमा भने नेकपाको विवाद तत्कालका लागि समाधान हुने बुझ्न सकिन्छ । यद्यपी कार्यदलमा स्थायी समितिकै भिन्न भिन्न खेमाका नेताहरुको सहभागिता रहेकाले उक्त प्रतिवेदनप्रति स्थायी कमिटी सदस्यहरुले नकारात्मक टिप्पणी नगर्ने अपेक्षा गरिएको छ ।
उता बैठक सुरु गरेर स्थायी कमिटी बैठक टुंग्याउने मनासायमा नेताहरु देखिएका छन् । बैठक सुरु भएको धेरै लामो समय भइसकेकाले पनि स्थायी कमिटीको यो बैठक टुंग्याएर विवाद समाधान गर्दै पार्टी र सरकारलाई नयाँ गति दिनेगरी अघि बढ्ने शीर्ष नेतृत्वको तयारी रहेको बुझिएको छ ।
नेकपाको जारी विवाद समाधान भएजस्तो देखिए पनि आगामी महाधिवेशसम्मै यो विवाद तानिएर जाने देखिन्छ । स्थायी कमिटीमा पुनः नेताहरुका असन्तुष्टि जाहेर हुनसक्ने सम्भावना पनि उत्तिकै छ ।
खासगरी माधव नेपाल पक्षले आफ्नो असन्तुष्टि राख्नसक्ने सम्भावना देखिन्छ । उता पार्टीमा आफ्नो भूमिकालाई लिएर स्पष्ट हुनुपर्ने मनासायमा प्रचण्ड रहेको कतिपयको बुझाइ छ ।
उता कार्यदलको प्रतिवेदनले पार्टीको विवाद पूर्ण रुपमा समाधान गर्न नसकेको भन्ने टिप्पणी पनि भइरहेका छन् ।