बागमती प्रदेशमा सरकार परिवर्तनको हलचल सुरु भएको छ । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई पूर्वसहमतिअनुसार पद छाड्न नेपाली कांग्रेसले दबाब दिइरहेको छ । कांग्रेसलाई माओवादी केन्द्रले पनि साथ दिएको छ ।
सुरुमा सरकार परिवर्तनमा मुख्यमन्त्री पाण्डे असहमत देखिएका थिए । तर, कांग्रेस र माओवादी केन्द्रको लगातारको दबाबपछि उनी अलि नरम भएका छन् । कांग्रेस र माओवादी केन्द्रले हस्ताक्षर संकलन गरेर पद छाड्न दबाब बढाएपछि पाण्डेले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।
प्रदेशको सरकार परिवर्तन गर्ने विषय केन्द्रीय गठबन्धले टुंग्याउनुपर्ने अडानमा समाजवादी रहेको देखिन्छ । तर, सरकार छाड्नैपर्ने अवस्था आइपरेपछि पाण्डेले संसदीय दलको बैठक बोलाएका हुन् ।
पाण्डे अडानमै रहँदा कांग्रेस र माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाउनेसम्मको तयारी गरेपछि पाण्डे पद छाड्न सकारात्मक देखिएका हुन् ।
उता बागमतीमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बन्नेसम्मको तयारी भएको भनेर समाचार नबाहिरिएको भने होइन । तर, एकीकृत समाजवादीका नेताहरु अहिलेकै अवस्थामा भने एमालेसँग सहकार्य गर्न सकारात्मक देखिनेमा भने विश्वास गरिहाल्ने अवस्था भने छैन ।
यस्तो अवस्थामा बोलाइएको संसदीय दलको बैठकमा बागमतीको सरकारको नेतृत्वदेखि आगामी सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुका सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।
बागमतीमा चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने पूर्वसहमति भएको बताइएको छ । उक्त सहमतिको पत्र सार्वजनिक भइसकेको छ । जसका कारण मुख्यमन्त्री छाड्न पाण्डे सकारात्मक देखिएका हुन् ।