तपाईं साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली कांग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ ।
तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ । पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन् ।
हाम्रो पार्टी पनि त्यस्तै नै हो । नेपाली कांग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफैं क्रमशः हट्दै जानेछन् । र, यो देश कालान्तरमा विश्वका अरू देशसरह व्यवस्थित र उन्नतशील भएर जानेछ ।
तपाईं साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ । मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु । तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईं साथीहरूको कामबाट नै सन्तोष छ ।
यसो नभएको भए यस्तो किसिमको पत्र लेख्न आवश्यक नै पर्ने थिएन । त्यस हुनाले तपाईंहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु । र, मलाई आशा छ, यसमाथि तपाईंहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुनेछ ।
नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायीत्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु । यो ऐतिहासिक उत्तरदायित्व के हो रु हामीले के गर्नुछ रु हामी सबैलाई यसको स्पष्टबोध नभए जस्तो छ ।
यसबारे मैले केही विचार गरें । मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली कांग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन् ।
अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा । तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो ।
साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्स्यौं र अझै त्यही गल्ती गर्दैछौं । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए ।
यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ । समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन् । तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाइहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु ।
पहिलोः
सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्यो । अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो ।
यसबाट त्यति नोक्सान हुने थिएन । तर अनेक कारणले त्यसो हुन सकेन । फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनु परेको छ ।
दोस्रोः
हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं । हामी आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं ।
तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुची वा अरुचिका छाया मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनु परेको छ ।
तेस्रोः
हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्ववोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन ।
चौथोः
यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं । र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो ।
पाँचौः
हाम्रा साथीहरूको पाँचौ खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं । जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ ।
छैटौः
हाम्रो छैठौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ ।
हामी त्यसो गर्दैनौं । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनु पर्छ ।
सातौः
अब म तपाइहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु । साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ ।
राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाइहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ ।
एउटा अर्को थरिको भनाइ के छ, भने नैतिकता विनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ ।
राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो ।
मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ ।
म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?
साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ ।
हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्यौं, गैर–इमान्दार भएर काम गर्यौं र आपसमा अविश्वास गर्यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको संवल नै के रहन्छ र ?
नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निरासाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।
माथि नै मैले तपाईंहरूलाई भनेको छु, ममाथिको तपाइको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ ।
यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईंहरू नै हुनुहुन्छ भन्ने होइन । साँच्चै भनौं भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ । हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ । कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन ।
यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ । यसलाई हामी सबै मिलेर हटाउनु छ । स्थिति अझै नसुल्झिने लायक भएको छैन । हामीले अनेक पटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गर्यौं ।
भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तव्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ ।
यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ । त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुन सक्छ । अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ । अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायीत्व पूरा हुनेछ ।
तपाइको स्नेही मित्र विश्वेश्वरप्रसाद कोइराला
(नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को अंक २०१५ बाट)