जनता समाजवादी पार्टीको विवाद बढ्दै जाँदा सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने संकेत गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवसँगको विवादपछि भट्टराईले यस्तो संकेत गरेका हुन् ।
विवाद बढ्दै जाँदा यादव र भट्टराई दुवैले छुट्टाछुट्टै बैठक बोलाएका थिए । भट्टराई पक्षको बैठक काठमाडौं र यादव पक्षको बैठक वीरगञ्जमा बसेको थियो ।
वीरगञ्जको बैठकले भट्टराईसहित उनी पक्षमा रहेका ९ जना नेतालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेसँगै भट्टराईले अब पार्टी पुनर्गठन (नायाँ पार्टी खोल्ने ?) को विकल्प नरहेको प्रतिक्रिया दिएका हुन् ।
साथै भट्टराईले एक प्रेस वक्तव्य जारी गर्दै यादवले आफूहरूमाथि गरेको कारबाहीलाई पनि खारेज गरिदिएका छन् ।
'उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ,' भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, 'हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ ।'
अब पार्टी पुनर्गठनको विकल्प आफूहरूसँग नरहेको भन्दै भट्टराईले त्यसका लागि नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
'यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन,' भट्टराईले भनेका छन्, 'तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।'
हेर्नुस् बाबुरामको प्रेस वक्तव्यः
प्रेस वक्तव्य
जसपा, नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ ।
केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८-२९ गते सम्पन्न भएको छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ । उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ । हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।
डा. बाबुराम भट्टराई
मिति : २०७९ असार ३१
अध्यक्ष सङ्घीय परिषद्