नेकपा एमालेको अर्थ तथा योजना विभागमा एक जना सदस्यको नामलाई लिएर यतिबेला तीव्र विवाद भइरहेको छ । सो विभागमा सदस्य रहेका एम अधिकारीको नामका विषयमा तीव्र विवाद भइरहेको हो ।
ती एम अधिकारी नेपाल राष्ट्र बैंकका बाहालवाला गभर्नर महाप्रसाद अधिकारी रहेको दाबीसहित सामाजिक सञ्जालदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ । एमालेले उल्लेख गरेका एम र महाप्रसादको ठेगाना पनि खोटाङ नै भएकाले पनि विरोध भइरहेको हो ।
अर्कातर्फ महाप्रसाद अधिकारी यसअघि पनि एमालेको सोही विभागमा रहेकाले उनी नै भएको भन्दै सामाजिक सञ्जाल र संसद तातेको हो । राष्ट्र बैंक ऐनअनसार बाहालवाला गभर्नर कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुन नपाइने व्यवस्था छ ।
सत्ता गठबन्धनका सांसदले यसबारेमा संसदमा पटक पटक कुरा उठाइरहेका छन् । यही विवादका कारण मौद्रिक नीति निर्माणको तयारीमा रहेका गभर्नर अधिकारीमाथि थप प्रश्न उठेको छ ।
विवाद बढ्दै गएपछि गभर्नर अधिकारीले एमालेको उक्त विभागमा रहेको एम अधिकारी आफू नरहेको प्रस्टीकरण दिएका छन् । तर, उनको कुरा आमरूपमा पत्याइएको छैन ।
त्यस्तै एमालेले पनि एम अधिकारी महाप्रसाद अधिकारी नरहेको त बताएको छ । तर, एमालेको यो तर्क पनि विश्वसनीय नदेखिएको भन्दै आन्दोलन र प्रदर्शनसम्म भइरहेका छन् ।
एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी नाम गरिएका व्यक्ति मनोज अधिकारी रहेको भन्दै दाबी गरेको छ । तर, ती मनोज अधिकारीले भने उक्त विभागमा बस्न अस्वीकार गरिदिएका छन् ।
विराटनगरका मनोज अधिकारीले आफू उक्त विभागको जिम्मेवारी लिन असमर्थ रहेको कुरा फेसबुकमार्फत नै सार्वजनिक गरिदिएपछि यो विषय झन् पेचिलो बनेको छ ।
एमालेलाई एम अधिकारी देखाउन तीव्र दबाब थियो । सोही कारण चार्टड एकाउन्टेन्ट मनोज नै एम भएको दाबी एमालेले गर्यो । तर, यो विषयलाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पत्याइरहेका छैनन् ।
अधिकारीले भने कार्यव्यस्तताका कारण आफूले उक्त जिम्मेवारी स्वीकार्न नसक्ने बताइरहेका छन् । यद्यपि, आफू एमालेको सक्रिय सदस्य रहेको भने उनले स्वीकारेका छन् ।
फेसबुकमा के लेखेका छन् मनोजले ?