गृहमन्त्री बालकृष्ण खाँणले रासायनिक मलमा अनुदानका लागि सरकारले झण्डै १६ अर्ब रूपैयाँ छुट्याएको जानकारी दिएका छन् । कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले उक्त अनुदान छुट्याएको खाँणको भनाइ छ ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खाँणले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल महँगीएको बताए । सोही कारण सरकारले अनुदान छुट्याएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारकै भाउमा मल किन्दा किसानलाई महँगो पर्ने खाँणले बताए । 'रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ,' उनले भने, 'अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ ।'
आफूहरू पनि किसानकै सन्तान भएको भन्दै खाँणले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर सरकारले प्रयास गरिरहेको जानकारी दिए ।
अहिले पनि विभिन्न स्वरुपमा मल आयात भइरहेको जानकारी दिँदै खाँणले तर, त्यो पर्याप्त नभएको तर्क गरे । सरकारले विभिन्न देशसँग यसबारेमा कुराकानी गरिरहेकाले छिटै समस्या समाधान हुनेमा आफू आसावादी रहेको उनले बताए ।
फरक प्रसङ्गमा खाँणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको बताए ।
नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्ब गर्न नहुने उनको भनाइ छ ।