संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने अपर अरुणको काम अघि बढ्ने भएको छ । आयोजना निर्माणका लागि प्रभाव पर्ने क्षेत्रको मुआब्जा दर पनि तोकिएको छ ।
अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका- २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो ।
१ हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढेको छ ।
उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिनको प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ ।
कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गाको प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।
त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी ७ लाख कायम गरिएको छ ।
जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाको लागि भोटखोलामा दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिँदै छ ।
आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो ।
जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ ।
हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । योजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ ।