अहिले काठमाडौंलगायत देशका बिभिन्न ठाउँमा डेंगीको प्रकोप बढिरहेको छ । मैले बंगलादेश पढ्दा डेंगीको भयाबह अत्यन्तै नजिकबाट महसुस हरेको थिएँ । फ्ल्याटमा बस्दा डेंगीको डरले हामी राति मात्र होइन, दिउँसो पनि झुलभित्र बसेर पढ्ने/सुत्ने गर्दथ्यौँ ।
मेरो बंगाली साथीलाई अचानक उच्च ज्वरो आउने, जोर्नी/मांशपेस र ढाड अत्यन्तै दुख्ने, आँखाको गेडी दुख्ने, टाउको फुट्लाजस्तो दुख्ने, वाकवाकी र वान्ता हुने तथा शरीरमा राता बिमिरा आउने लक्षण देखिए । हड्डी तथा जोर्नीमा अत्यधिक दुखाइ हुने भएकोले डेंगीलाई ‘ब्रेकबोन फिभर' पनि भनिन्छ ।
सुरुमा उसले घरमै बसेर लक्षणअनुसारको औषधि सेवन गर्यो । रगत परीक्षण गर्दा डेंगी एनएस १ पोजिटिभ देखियो । WBC घटेर १२०० पुग्यो, प्लेट्लेट्स ५०,००० मा झर्यो । त्यसपछि उ तत्काल अस्पतालमा भर्ना भयो । पीसीआर टेस्ट गर्दा डेंगी भाइरस पोजिटिभ देखियो । अस्पताल पुगेपछि एकदम पेट दुख्ने, लगातार वान्ता हुने, मुखबाट रगत आउने, एकदम छटपटी हुने, शिथिल हुने, कलेजो सुन्निने तथा प्लेट्लेट्स घट्दै गयो ।
उसलाई रगत चढाउने, सलाइन दिने तथा अन्य उपचार दिने क्रम भइरहेको थियो । दर्जनौँ पिन्ट रगत दिएपछि उसको प्लेट्लेट्स १०,००० बाट बढ्न थाल्यो । त्यसपछि हामी ढुक्क हुन थाल्यौँ । अस्पताल भर्ना भएको एक हप्ता निकै तनावमा बित्यो । प्लेट्लेट्स बढ्न थालेपछि उसलाई कालो चिया, दालको रस हुँदै मुखबाट खाना दिन सुरु भयो । अस्पतालको खाना उसले पटक्कै खान सकेन । हामीले आफैँ पकाएर उसलाई दिनको ३ पटक खाना पुर्याउने गर्यौँ । उपचार तथा आहारको सन्तुलनले उसलाई निको भयो ।
बंगलादेशमा डेंगीको कारण बर्सेनि धेरैको मृत्यु हुन्छ । त्यसो त भारत र नेपालको तराई पनि डेंगीको जोखिममा पर्दछन् । बिगत केहि वर्षदेखि डेंगी तराइमा मात्र नभएर पहाड तथा शहरमा पनि उकालो लागिरहेको छ ।
०००
डेंगीको समयमै उपचार नगरेमा ग्रन्थी प्रणाली तथा रक्तनली नष्ट हुन सक्छन् । छालाभित्र रगत जम्ने, आन्तरिक रक्तश्राव हुने तथा रक्त सञ्चार प्रणाली फेलर हुन सक्छ ।
साधारण डेंगीभन्दा रक्तश्रावजन्य डेंगी निकै खतरनाक हुन्छ । यसबाट डेंगी सक सिन्ड्रोम हुँदै मृत्यु पनि हुन सक्छ ।
०००
डेंगीको ठोस उपचार छैन । ज्वरो आउने, टाउको तथा हड्डी दुखेमा ब्रुफिन/निमुसेलाइड/एस्पिरिनलगायतका औषधि खानु हुँदैन । पारासिटामोल सुरक्षित हुन्छ । मल्टिभिटामिन खान सकिन्छ । प्लेट्लेट्स बढाउन हाल मेवाको पातबाट बनेका चक्की बजारमा उपलब्ध छन् । ती चक्की चिकित्सकको सिफारिस र निगरानीमा मात्र सेवन गर्न सकिन्छ ।
०००
डेंगीको घरेलु उपचार
- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
- शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ ।
- प्रशस्त पानी, जीवन जल, फलफूल, फ्रेस जुस खाने ।
- मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने ।
- प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने ।
- बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने ।
- अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ ।
- स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ ।
- नीमको पातले पनि प्लेटलेट बढाउँछ ।
- हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ ।
- मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
- दूधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ ।
- तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन् ।
- जौको जमराको रस पनि निकै फाइदाजनक हुन्छ ।
- सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ ।
- खीर रुचिकर तथा फाइदाजनक हुन्छ ।
- अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ ।
( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने।)
०००
यी सबै एकैपटक खानुपर्छ भन्ने होइन । यीमध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने । डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनु पर्दछ । यी घरेलु उपचारसँगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ ।
०००
कुन अवस्थामा तुरुन्त अस्पताल जाने ?
- नाक, मुखबाट वा वान्ता गर्दा रगत आएमा
- ज्वरो नियन्त्रण नभएमा
- सेतो रक्तकोष तथा प्लेट्लेट्स निकै घटेमा
- बेहोस होलाजस्तो भएमा
डेंगीबाट बच्ने उपायहरू: Ref UNICEF
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरीर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौँ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौँ ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरूमा किटनाशक औषधि छर्कने गरौँ ।
- कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरू राम्ररी सफा गरौँ ।