राष्ट्रिय प्रसारण लाइनमा थप २७ मेगावाट जलविद्युत् थपिएको छ । हिमालय पावर पार्टनर लिमिटेडले लमजुङको दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् थपिएको हो ।
मंगलबार दोर्दीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको घोषणा गरिएको हो । त्यस बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रवर्द्धक हिमालय पावर पार्टनरका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थिति थियो ।
लामिछानेले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गरे ।
ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न गैरआवासीय नेपालीलाई ढकालले आग्रह गरे ।
आयोजनाले २०७२ फागुनदेखि निर्माण थालेको हो । २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, नाकाबन्दी, पावरहाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजनामा एनआरएनएको ३५.७ प्रतिशत, आईएमई ग्रुपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । ३ अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब ५ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।
सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) भएको आयोजनाले जनाएको छ ।