काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना भाइरसका संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी सोही अवधिमा १ हजार १ सय ७३ जना कोरोना भाइरसमुक्त भई घर फर्किएको तथ्यांक छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार यस्तो जानकारी दिएका हुन् ।
यससंगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या ५४ हजार एकसय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण गरिएकामा १ हजार ३९ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेहरुको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । हाल नेपालमा १५ हजार १ सय १७ जना संक्रीय संक्रमित रहेको तथ्यांक छ । त्यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
काठमाडौंमा मात्रै ४८३ जना संक्रमण देखिएको छ भने ललितपुरका ३३ र भक्तपुरका ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ५९७ सहित पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाको संक्रमणबाट थप ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोनाका कारण हालसम्म नेपालमा ३ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका ९ जनामध्ये ३ जना महिला र ६ जना पुरुष छन् ।