काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलने दर नियन्त्रणमा नआएपछि इजरायल सरकारले पुनः लकडाउनको घोषणा गरेको छ ।
करिब ९० लाख जनसंख्या रहेको इजरायलमा कोरोना भइरसका कारण हालसम्म १,१०८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ लाख ५३ हजारमा उक्त भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसका साथै नयाँ संक्रमितहरु बढ्दै जान थालेपछि सरकारले आगामी शुक्रबारदेखि लागू हुने गरी कडा प्रतिबन्धहरुसहित पुनः लकडाउनको घोषणा गरेको छ ।
तर यहुदीहरुको चाडपर्व नजिकिएकै बेला देशव्यापी लकडाउनको घोषणा गरिएको भन्दै एकजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबारदेखि सुरु हुने लकडाउन कम्तीमा तीन हप्तासमम कायम रहने बताइएको छ । प्रतिबन्दको मूल्य चर्काे चुकाउनु पर्ने बताए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दैनिक ४ हजारको संख्यामा संक्रमितहरु थपिन थालेपछि लकडाउन घोषण गरेका हुन् ।
तर यहुदी चाडपर्व नजिकिँदै गर्दा भएको लकडाउनप्रति असहमति जनाउँदै आवास मामिला मन्त्री याकुब लिसम्यानले पदबाट राजीनामा दिएका छन् ।
लकडाउनको समयमा इजरायलमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन् ।
विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन ।
गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन् ।
प्रधानमन्त्री नेतन्याहुले परिवारका सदस्यहरू भेला भएर मनाउने गरिएका धार्मिक बिदाहरू लकडाउनका कारण प्रभावित हुने कुरा स्वीकारेका छन् ।
इजरेली अर्थमन्त्रीका अनुसार दोस्रो लकडाउनबाट मुलुकले १.८८ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोर्नेछ।