प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् । त्यसमध्ये नेकपा माओवादी केन्द्रले एक सिटमा पनि जित निकाल्न सकेन ।
तर, माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लडेका नेसपाका महिन्द्र राय यादवले प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसका कारण मधेसमा एक जना माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका उम्मेदवार निर्वाचित भएका छन् ।
३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा माओवादी केन्द्रले ४ क्षेत्रमा उम्मेदवारी दिएको थियो । सर्लाही २ बाट रायले सत्ता गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्र रायले जित निकालेका हुन् । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे ।
मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए ।
महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल एमाले नेता लक्ष्मी महतो कोइरीसँग पराजित भएका थिए भने सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भएका थिए । रौतहतमा माओवादीले प्रभु शाहलाई समर्थन गरेको थियो ।
खासमा माओवादी केन्द्रका नेताहरूको शक्ति संघर्षले पार्टी पराजित भएको विश्लेषण भइरहेको छ । स्थानीय तहमा पनि नेताहरूको गुटगत लडाइँले अपेक्षाकृत परिणाम निकाल्न नसकेको माओवादीले यसपटक नराम्रो पराजय व्यहोरे ।
पार्टीभन्दा पनि साँघुरो घेरामा रमाउने, कार्यकर्ताको संरक्षण नगर्ने, संगठन विस्तारमा ध्यान नदिने अनि गुटगत लडाइँमा केन्द्रित हुँदा माओवादीले यसपटक मधेसमा नमिठो हार व्यहोरेको माओवादीकै नेताहरू बताउँछन् ।