राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तरक्की गर्दै जाँदा यो निर्वाचनले कमल थापा नेतृत्वको राप्रपा नेपालको अस्तित्वमाथि गम्भीर प्रश्न खडा भएको छ ।
लिङ्देन नेतृत्वको राप्रपाले प्रत्यक्षतर्फ ७ सिटमा जित निकालीसकेको छ भने समानुपातिकतर्फ पनि राष्ट्रिय दल बन्न पुग्ने मत ल्याइसकेको छ । अर्कातर्फ राप्रपा नेपालको हालत भने खराब छ । उसले न प्रत्यक्षतर्फ एक सिट जित्न सक्यो न राष्ट्रिय पार्टी बन्ने लक्षण नै ल्यायो ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि आफूलाई दरबारले हराएको भन्दै राप्रपा छाडेर राप्रपा नेपाल बनाएका थापा यो चुनावमा नेकपा एमालेको सूर्य लिएर मैदानमा उत्रिएका थिए । उनले एमाले चुनाव चिह्न लिएको भए पनि पार्टीको चुनाव चिह्न भने तिर हो ।
पार्टीको चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थापालाई उनका कुनै बेलाका सहकर्मी दीपकबहादुर सिंहले मकवानपुरबाट पराजित गरिदिए ।
अर्कातर्फ राप्रपा नेपालले समानुपातिकतर्फ हालसम्म जम्मा १० हजार ५ सय ८२ मत मात्रै पाएको छ । जबकी राप्रपाले प्रत्यक्षतर्प ७ सिट जित्दै समानुपातिकतर्फ पनि ५ लाख ४५ हजार ६९० मत पाइसकेको छ ।
जसका कारण राप्रपा नेपालले जनताले अस्वीकार गरिदिएका छन् भने राप्रपालाई जनताको माया प्राप्त भएको छ । यसको सोझो अर्थ लिङ्देनको नेतृत्वमा राप्रपाले तरक्की गर्दै जाँदा थापा नेतृत्वको राप्रपा नेपाल भने अस्तीत्व रक्षाको संकटमा परेको छ ।
त्यस्तै सामाजिक सञ्जालहरूमा निकै चर्चा परिचर्चा हुने विवेकशील साझा पार्टीको हालत पनि खराब भएको छ । यो निर्वाचनमा हालसम्म विवेकशील साझाले समानुपातिकतर्फ जम्मा ३ हजार ७६० मत पाएको छ । यद्यपि, समानुपातिकतर्फको मतगणना जारी रहेकाले यो पार्टीको केही मत भने बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।