मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ को प्रदेशसभामा कुनै पनि दलले एकल बहुमत ल्याएका छैनन् । सोही कारण यो प्रदेशमा सरकार निर्माणका लागि गठबन्धन बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
गठबन्धन बनाउँदा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोही अनुसार माओवादीका मुख्यमन्त्रीका आकांक्षीले आफूलाई प्रस्तुत गर्न थालेका छन् ।
माओवादी केन्द्रका नेता तथा प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षी इन्द्र आङ्बोले आफ्ना सात प्राथमिकता सार्वजनिक गरेका छन् । आङ्बो हाल प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री छन् । उनले आगामी ५ वर्षका लागि प्रदेश १ का सात प्राथमिकता सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्ना प्राथमिकतामा सार्वजनिक गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई महत्व दिएका छन् । विगत ५ वर्षको प्रदेश सरकार र प्रदेशसभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपालि निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको प्राथमिकता निर्धारण गरेको उनले जनाएका छन् ।
यस्तो छ आङ्बोले सार्वजनिक गरेको प्राथमिकताः
विगत ५ वर्षको प्रदेश सरकार र प्रदेशसभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपाली निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको मेरो सार्वजनिक जीवनको कार्यकालमा मुख्यतः निम्न विषयहरूमा ध्यान केन्द्रित र पैरवी गर्ने निष्कर्ष निकालेको छु ।
१. सामुदायिक शिक्षामा व्यापक सुधार, शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड ।
२. सरकारी अस्पतालहरूको पूर्वाधार र सेवामा गुणात्मक सुधार, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच ।
३. वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवाकेन्द्रित पूर्वाधार निर्माणमा जोड ।
४. उत्पादन (कृषि, उद्योग, निर्माण, वन, पर्यटन लगायत) मा जोड र व्यापक रोजगारी सिर्जना ।
६. सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार ।
७. भ्रष्टाचार शून्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति ।
तपाईंहरूको निरन्तर रचनात्मक राय र सुझावको अपेक्षासहित धन्यवाद !