त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारीको आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । बिहीबारको गोरखापत्र दैनिकमा अस्पतालले सूचना प्रकाशित गरेर आवेदन माग गरेको हो ।
अस्पतालका लागि चि.शा.अ.सं. कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीका पदहरूमा करार सेवामा पदपूर्तिका लागि कर्मचारी माग गरिएको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण १८ वर्ष पूरा भइ ४० वर्ष (महिलाको हकमा ४५ वर्ष ननाघेका) इच्छुक नेपाली नागरिकले २०७९ पुस २१ गतेभित्र आवेदन दिन सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न भनिएको छ ।
अस्पतालले मुख्य प्राविधिक सहायक (फार्मेसी) छैटौँ तहमा ५, मुख्य प्राविधिक सहायक (प्याथोलोजी) छैटौँ तहमा ३, मुख्य प्राविधिक सहायक (बायोमेडिकल टेक्निसियन) छैटौँ तहमा १ र मुख्य प्राविधिक सहायक-जनस्वास्थ्य (हेल्थ असिस्टेन्ट) छैटौँ तहमा ४ जना दरबन्दीका लागि आवेदन आह्वान गरेको छ ।
आवेदन फारमका साथमा एसएलसी/एसईईदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मु.प्रा.स. (प्याथोलोजी) र मु.प्रा.स. (हेल्थ असिस्टेन्ट) को हकमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्ने जनाएको छ ।
त्यस्तै मु.प्रा.स. (फार्मेसी) को हकमा नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि तथा मु.प्रा.स. (बायोमेडिकल टेक्निसियन) को हकमा मान्यता प्राप्त संस्थाबाट BMET उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।
त्यस्तै विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने पनि जनाइएको छ । त्यस्तै पासपोर्ट साइजको २ प्रति फोटो पनि आवश्यक हुने जनाइएको छ ।
अस्पतालले सम्पर्क मिति २०७९।०९।२४ गतेका लागि तोकेको छ भने परीक्षाको किसिम लिखित हुने जनाइएको छ । परीक्षा मिति भने सम्पर्क मितिमा तोकिने अस्पतालले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।