सिन्धुलीको कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्रका विपन्न बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
भगवती अंग्रेजी मावि र सोअन्तर्गतको भगवती बाल क्लबको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडास्थित आधारभूत विद्यालयका १ सय ५५ जना बालबालिकाहरूलाई उक्त सहयोग प्रदान गरिएको हो ।
चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरू अध्ययनका लागि विद्यालय आउनै नसक्ने भएको थाहा पाएपछि भगवती माविले आइतबार आधारभूत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाति छात्र तथा छात्राहरूलाई ट्र्याकसुट, कपी, पेन्सिललगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।
उक्त आधारभूत विद्यालय जिल्लाको फिक्कल गाउँपालिकाकै अति दुर्गम क्षेत्र काउलेमा पर्दछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर आलेमगरले न्यानो कपडा र शैक्षिक सामग्री अभावका कारण विद्यार्थीहरू अध्ययनका लागि विद्यालयनै आउन छाडेको गुनासो गरेपछि आफूहरूले बाल क्लबसँग समन्वय गरेर विपन्न बालबालिकाहरूका लागि सहयोग गर्न गाउँमै आएको भगवती अंग्रेजी माविका अध्यक्ष संजय कुमार दाहालले बताए ।
शैक्षिक सामग्री वितरणका क्रममा भगवती माविका संस्थापक प्रिन्सिपल कृष्णकुमार उप्रेतीले पुषको कठ्याङ्ग्रीदो चिसोका कारण कोही बालबालिकाहरू समस्यामा नपरुन् भनेर सहयोग गरेको बताए ।
उनले भने, ‘निजी विद्यालयहरू नाफामुखी मात्र हुन्छन् भन्ने भ्रम छ । तर हामी विगत ३० वर्षदेखि निरन्तर मेचिदेखि महाकालीसम्मका विपन्न, अनाथ, द्वन्द्वपीडित, बाढीपीडित, भूकम्पपिडितहरूलाई सहयोग गर्दै आएका छौँ । त्यसैको निरन्तरतामा यो पटक यहाँका विपन्न बालबालिकाहरूलाई शैक्षिक सामग्री लिएर आएका हौँ ।’
उप्रेतीले ग्रामिण क्षेत्रका विपन्न, दलित समुदायका बालबालिकाहरूको शैक्षिक उन्नतिका लागि भोलिका दिनमा पनि भगवती माविले यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताए ।
कार्यक्रममा फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भगवती माविको सहयोगप्रति अभार व्यक्त गर्दै पालिकाका दुर्गम क्षेत्रमा शिक्षक र विकास कम आउने भन्दै दुःख व्यक्त गरिन् ।
‘पालिकामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी पनि छैन । भएका शिक्षकहरू पनि सदरमुकाम र घरपाएक सरुवा भएर जाँदा पठनपाठनमै समस्या हुने गरेको छ,’ उनले थपिन्, ‘यस्तो अवस्थामा पालिकाको मात्र प्रयासले सम्भव छैन । निजि विद्यालयहरूसँग भगिनी सम्बन्ध स्थापित गरेर सामुदायिक विद्यालयहरूको विकासमा समेत सहयोग पुर्याउन तयार छु ।’
विद्यार्थीका अभिभावकहरू दैनिक ज्याल मजदुरी गर्दछन् । माफ्नो कमाइले खान समेत समस्या हुने गरेपछि दुर्गम क्षेत्रका अभिभावकले बालबालिकाहरूलाई पुषको कठ्याङ्ग्रीदो चिसोमा समेत न्यानो कपडा किनिदिन सक्ने अवस्था नभएको बेला निजी स्तरको विद्यालयको सहयोगले ठूलो राहात पुगेको आधारभूत विद्यालयका प्रध्यानध्यापक सन्तोष आचार्यले बताए ।
भगवती अंग्रेजी माविका बालबालिकाहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरिएको बाल क्लबको पैसामा विद्यालयले समेत थपेर झण्डै ३ लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।
न्यानो कपडाका साथै शैक्षिक सामग्री पाएपछि बालबालिकाहरू भने दंग परेका छन् । उनीहरूले जाडोमा न्यानो कपडाए पाएको भन्दै खुसी व्यक्त गरे ।
जिल्लाकै उत्कृष्टमध्येको भगवती माविले ३५ जना द्वन्द्वपीडित बालबालिका र २० जनाभन्दा बढी असहाय, अनाथ बालबालिकाहरूलाई उच्च माविसम्म निःशुल्क पठनपाठन गराएको छ । विपन्न बालबालिकाहरूलाई वार्षिक २६ लाखभन्दा बढीको स्कलरसिप प्रदान गर्दै आएको छ । यसबाहेक सप्तकोशी बाढीपीडित, चितवनका बाढीपीडित, भूकम्पपीडित, अनाथ तथा विपन्न बालबालिकाहरूलाई राहात तथा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।