नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बनेसँगै अर्थतन्त्रमा सकारात्मक सन्देशहरू देखा परेका छन् । निकै अप्ठेरोमा अवस्थामा रहेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउने मुख्य चुनौती बोकेको प्रचण्डको सरकारलाई अर्थतन्त्रले पनि सकारात्मक सन्देश दिन थालेको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई शेयर बजारले हरियो बत्ती बालेर स्वागत गरेको छ । लामो समय सुस्ताएको शेयर बजारले प्रचण्ड प्रधानमन्त्री बनेसँगै उचाइ लिन थालेको हो । सोमबार र मंगलबार मात्रै शेयर बजार ११५ अंकले बढ्यो । नेप्से बढेसँगै कारोबार रकम पनि ह्वात्तै बढ्न पुग्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । सोमबार प्रचण्डले पद तथा गोपनीयताको शपथग्रहण गरेर पदभार सम्हालेका थिए । सोही दिन उनले आफू नेतृत्वको मन्त्रिपरिषद्को बैठक पनि राखिसकेका छन् । यस्तो सन्दर्भमा अर्थतन्त्रले सकारात्मक सन्देश दिन थालेको हो ।
बढ्यो शेयर बजार
निकै लामो समयदेखि सुस्ताएको शेयर बजार प्रचण्ड प्रधानमन्त्री बनेसँगै लयमा फर्किन थालेको छ । सोमबार र मंगलबार मात्रै शेयर बजार ११५ अंकले बढ्यो । नेप्से बढेसँगै कारोबार रकम पनि ह्वात्तै बढ्न पुग्यो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजीबजारको गिरावट रोक्ने बताएसँगै शेयर बजारमा उछाल आएको हो । त्यससँगै मंगलबार चार महिनायताकै सबैभन्दा धेरै कारोबार भयो ।
३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात
प्रचण्ड प्रधानमन्त्री बनेसँगै झण्डै ३५ महिनापछि नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट नेपाली सामान त्यसतर्फ निर्यात हुन सकेको थिएन ।
तर, प्रचण्ड प्रधानमन्त्री भएको केही दिनमै उक्त नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको हो । भन्सार कार्यालयले पनि मंगलबारदेखि पुनः नेपाली सामान रसुवागढी नाकाबाट चीनतर्फ निर्यात हुन थालेको जानकारी दिएको छ ।
मंगलबार मात्रै ८ कन्टेनर सामान रसुवागढी नाका भएर चीनतर्फ निर्यात भएको छ । मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु चीनतर्फ निर्यात भएका छन् । यो नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।
रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा
काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आएको छ । रेल विभागका अनुसार रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको हो ।
यो रेलमार्गको यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको हो । अब चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।
सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरे पनि कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । अब टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।
भारतले थप दुई आयोजनाको बिजुली किन्ने
त्यस्तै भारतले थप दुई जलविद्युत् आयोजनाको बिजुली किन्ने भएको छ । सरकारले बिजुली निर्यातलाई पछिल्लो समय निकै प्राथमिकताका साथ अगाडि बढाएको छ । अब भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार निजी क्षेत्रका थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार मंगलबार बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुनेछ ।
यससँगै काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली भारत निकासी हुने भएको छ । यद्यपि ती आयोजनाको बिजुली तत्कालको लागि भने नेपालभित्रै खपत हुनेछ । नेपालमा खपत भएर रहेको बिजुली भारततर्फ निकासी हुँदै आएको छ ।
आगामी जेठदेखि ती आयोजनाको बिजुली भारत निर्यात हुने जनाइएको छ । काबेली बी एक २४ दशमलव २५ मेगावाट र तल्लो मोदी १९ दशमलव चार मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल चार सय ५२ दशमलव छ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।
प्राधिकरणले यही पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको जनाएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।