सरकारको नेतृत्व गरिरहेको अवस्थामा मुखैमा आएको सत्ता गुमाएपछि नेपाली कांग्रेसमा विवाद चर्कंदै गएको छ । खासगरी चुनावपछि पार्टी नेतृत्वले चालेका कदमले सत्ताबाट बाहिरिनुपरेको भन्दै संस्थापनइतर पक्षका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवको आलोचना गरिरहेका छन् ।
तत्कालीन गठबन्धनमा रहेको माओवादी केन्द्रलाई पार्टी सभापति शेरबहादुर देउवाले आफूसँगै टिकाइराख्न नसक्दा कांग्रेस प्रमुख प्रतिपक्षी बन्न पुगेको छ । चुनावपछि देउवाले राष्ट्रपति र प्रधानमन्त्री आफैँसँग राख्न खोज्दा माओवादी केन्द्रले गठबन्धन छाडेको थियो ।
त्यसपछि नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपालगायतका दलले गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएका छन् । जसका कारण कांग्रेस प्रतिपक्षी बन्न पुगेको छ । यसैलाई लिएर संस्थापनइतर पक्षका नेताहरूले देउवाको आलोचना गरिरहेका छन् ।
सुरुदेखि नै चुनावअघि गठबन्धन बनाउन नहुने पक्षमा नेता डा. शेखर कोइराला नेतृत्वको समूह थियो । तर, देउवाले त्यसलाई बेवास्ता गर्दै गठबन्धन बनाएर चुनावमा होमिए । तर, पछि सरकार निर्माणका बेलामा उनले गठबन्धन टिकाउन नसकेको भन्दै देउवाको आलोचना भइरहेको हो ।
संस्थापनइतर पक्षले बुधबार काठमाडौंमा भेला आयोजना गरेको थियो । कांग्रेसले केन्द्रीय समिति बैठक बोलाइसकेको सन्दर्भमा भएको उक्त भेलालाई महत्वका साथ हेरिएको छ । बैठकपछि सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेले आगामी बैठकमा नेतृत्वले चालेका कदमबारे कुरा उठ्ने बताएका छन् । यसरी हेर्दा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा यो समूहको भेला केन्द्रित भएको देखिन्छ ।
उता महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि देउवाले चालेका पछिल्ला कदमबाट सन्तुष्ट छैनन् । जसका कारण आगामी केन्द्रीय समिति बैठकमा देउवाको आलोचना हुन सक्ने देखिएको छ ।
अर्कातर्फ संस्थापन पक्षका नेताहरू भने देउवाको कदमको रक्षामा उभिएका छन् । उनीहरू सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व पाउनुपर्ने देउवाको अडान गलत नरहेको बताउँछन् ।