नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । तर, आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
निगमले आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि मूल्य यथावत् राखिएको जनाएको हो । यसअघि मूल्य घटेर आउँदा पनि निगमले मूल्य नघटाएको भन्दै आलोचना हुने गरेको थियो ।
निगमका अनुसार आइतबार आईओसीले मट्टीतेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । जसमा इन्धनको मूल्य बढेको जनाइएको छ ।
निगमका अनुसार आईओसीले पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रतिलिटर र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढाएर पठाएको छ । मट्टीतेलको मूल्य भने घटेर आएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।
अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्यासमा प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ ।
निगमलाई १५ दिनमा एलपीजी ग्यासमा मात्रै ४६.४४ करोड घाटा भए पनि समग्रमा नाफा नै छ । निगमको सरकारलाई तिर्नुपर्ने र आईओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता पुगेको छ ।
यसअघि निगमले पुस १ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रहेको छ ।