निर्वाचनपछि पहिलोपटक मकवानपुर पुगेकी प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेललाई स्थानीयवासीले स्वागत, सम्मान र सद्भाव व्यक्त गरेका छन् ।
जनयुद्धको समयमा मकवानपुरको एरिया इन्चार्जको रूपमा काम गरेकी सांसद माझीलाई बकैया गाउँपालिकाअन्तर्गतका माझी वस्तीमा भव्य स्वागत गरिएको हो ।
मकवानपुरका छतिवन, जुरेली, हात्तीखोलालगायतका बस्तीमा पुगेकी उर्मिलालाई स्थानीय जनताले फूल माला, टीकाले स्वागत गरेका हुन् । काभ्रेमा जन्मेकी उर्मिलाले जनयुद्धको समयमा काभ्रे, मकवानपुर र ललितपुर जिल्लामा भूगोलको एरिया इन्चार्जको भूमिकामा जनतालाई संगठित, प्रशिक्षित र परिचालन गर्ने गर्दथिन् । उनी त्यस क्षेत्रमा उमाको नामले परिचित छन् ।
उनले आफूले यस क्षेत्रमा आइपुग्दा जनयुद्धकालीन आत्मीयता पाएको बताउँदै आफूले यस क्षेत्रको विकास र समृद्धिमा सक्दो पहल गर्ने बताइन् । उनले माझी समुदायलाई राज्यले अत्यन्तै उपेक्षा गरिरहेको अवस्थामा नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले माझी समुदायलाई चेतना जागृत गरेको र माओवादीकै कारण नै माझी समुदायले अधिकार प्राप्त गरेको बताइन् ।
सहिदका पदचाप पछ्याउँदै निर्वाचनपछि पहिलोपटक मकवानपुरका बस्तिमा माझी समुदायकी महिला सांसद उर्मिला पुग्दा उनीसँग खुसी साँट्ने र बधाई दिनेमा युवा, महिला र बुढा बाआमाहरू थिए । सांसद उर्मिलाले आफूलाई जनयुद्धकालमा दुस्मनसँग लुकाउँदै र माया गर्दै बचाएको उक्त क्षेत्रलाई कहिल्यै विर्सन नसक्ने बताइन् ।
सांसद माझीले आफू निरन्तर माझी समुदायलगायत पिछडिएका समुदाय र वर्गको लागि लडिरहने बताएकी थिइन् । उनी माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव हुन् । उनी लमजुङबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनीसँगै माझी समुदायकी नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीलाई स्वागत र सम्मान गरिएको थिया ।