सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुमथाङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
बाह्रबिसे नगरपालिका– ७ स्थित भीमखर्क र नाकबुच्चेमा शनिवार राती आएको पहिरोले १८ घर पुगेको थियो । घटनामा अझै १८ जना वेपत्ता रहेका छन् ।
खोजतलासकै क्रममा प्रहरीले सोमबार दुई जनाको शव फेला पारेको थियो । आज फेला परेको शव २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । योसँगै मृतकको संख्या १३ पुगेको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले तीन वटा टोली बनाई घटनास्थलमा खोजी कार्य गरिरहेको उपरीक्षक सापकोटाले जानकारी दिएका छन् ।
पहिरोले पुरिएका नेवार टोल, लामा टोल र विक टोलमा प्रहरीले खोजी कार्य जारी राखेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
पहिराबाट २२ घर पूर्णरुपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए । आंशिकरुपमा क्षति भएका घरको लगत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।