प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले आयोगहरूको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘समुदायलाई अधिकारसम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरूले प्रभावकारी रूपमा काम गर्न सक्छन् ।’
आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूको लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रमबमोजिम भएको नदेखिएकोले निर्दिष्ट मर्यादाक्रमबमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । त्यसैगरी संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा थियो ।
सो भेटवार्तामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको सहभागिता थियो ।