राजनीतिक नेतृत्वका कार्यकर्ताहरू हुनुलाई सामान्य मानिन्छ । उनीहरूका समर्थक हुनु र ती समर्थकहरूले नेताहरूको क्रियाकलापको प्रचार प्रसार र समर्थन गर्नुलाई पनि सामान्य मान्न सकिन्छ । तर, नेताहरूको मन्दिर बनाएर उनीहरूको मूर्ति स्थापना गरिनुलाई भने कसरी हेर्ने ?
यस्तै घटना भारतमा हुने भएको छ । भारतको अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको मन्दिर बनाइने भएको छ । अयोध्यामा योगी आदित्यनाथको श्री योगी मन्दिर बनाउन लागिएको हो ।
भारतीय सञ्चारमाध्यम एबीपीन्युजका अनुसार योगीका प्रचारक प्रभाकर मौर्यले योगीको उक्त मन्दिर बनाउन लागेका हुन् । यो मन्दिर निर्माणका लागि २४ फेब्रुअरीमा भूमि पूजा गर्ने कार्यक्रम तय भएको छ । एबीपीको समाचारमा दाबी गरिएअनुसार यसका लागि राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासले भूमि पूजा गर्नेछन् । भूमि पूजाको अवसरमा हनुमानगढीका पुजारी राजु दास तथा अयोध्याका वरिष्ठ सन्तहरू पनि सहभागी हुने एबीपी न्युजले जनाएको छ ।
समाचारमा जनाइएअनुसार श्रीयोगी मन्दिर १०१ फिट अग्लो हुनेछ । मन्दिरको लम्बाई र चौडाई पनि सोहीअनुसारको हुने जनाइएको छ । करिब ४ करोड भारतीय रूपैयाँको लागतमा मन्दिर बनाइन लागिएको हो ।
मन्दिर बनाउन लागेका प्रभाकरले आफ्नो युट्युब च्यानलबाट उक्त रकम संकलन गरिएको जनाएका छन् । त्यसका साथै कतिपय मुस्लिम संगठनले पनि मन्दिर बनाउनका लागि सहयोग गरेको मौर्यको भनाइ छ ।
भूमि पूजाका लागि प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि निमन्त्रणा पत्र पठाइएको जनइएको छ । त्यस्तै अयोध्याका थुप्रै साधु सन्तहरूलाई पनि भूमि पूजामा सहभागी हुनका लागि निमन्त्रणा पठाइएको जनाइएको छ ।
मन्दिर बनाउन लगभग ५ वर्षको समय लाग्ने पनि जनाइएको छ । मन्दिरमा भगवानको मूर्ति नभएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको मूर्ती राखिनेछ । जसलाई भगवानको मूर्तिमा जस्तै प्रत्येक दिन बिहान बेलुकी पूजा हुनेछ भने साँझ आरती गरिनेछ ।
योगीको मन्दिर निर्माण गर्न लागिएको बारे एबीपीले आचार्य सत्येन्द्र दासको प्रतिक्रिया पनि लिएको छ । जसमा उनले भनेका छन्- यो आस्था हो र प्रभाकर मौर्य योगी आदित्यनाथका परम भक्त हुन्, जसले उनको भव्य मन्दिर बनाउन लागेका छन् । उनले भूमि पूजाका लागि आफूले निमन्त्रणा पाएको र त्यसमा सहभागी हुने पनि उल्लेख गरेका छन् ।