काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुँदा कसको नेतृत्वमा जाने भनेर नेपाली कांग्रेसमा हानाथाप चलेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटलाई पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी हुन पठाउन चाहन्छन् । उता, संस्थापनइतर पक्ष भने त्यसो हुँदा पार्टीमा वरियता मिल्नुपर्ने पक्षमा छ । जसका कारण कांग्रेसमा यो विषय पेचिलो र देउवाका लागि दबाबपूर्ण देखिएको छ ।
कांग्रेस नेताहरूका अनुसार संस्थापन पक्षबाट प्रकाशसरण मन्त्री बन्ने लाइनमा छन् । उनी नै पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहन्छन् । उता, उपसभापति पूर्णबहादुर खड्काले चाहेमा उनको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनेछ ।
यदि खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भए त अर्को पक्षले विवाद निकाल्ने देखिँदैन । तर, देउवाले महतलाई नेतृत्व दिन चाहे भने चाहिँ कांग्रेसमा विवाद हुने देखिन्छ ।
उता, संस्थापनइतर पक्षबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने लाइनमा छन् । यसको अर्थ खड्काबाहेकले नेतृत्व गरेमा देउवालाई वरियता मिलाउन सकस पर्ने छ । तर, उनले संस्थापनइतर पक्षका नेताकै नेतृत्वमा भए पनि सरकारमा सहभागी हुन चाहे पनि विवाद हुन सक्ने सम्भावना कम छ ।
यो त भयो पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुने कुरा सँगै मन्त्रालय भगवण्डाको विषयले पनि कांग्रेसमा तानातान हुने देखिन्छ । ठूला र प्रभावशाली मानिएका मन्त्रालयमा नेताहरूले आँखा लगाएका छन् ।
अर्कातर्फ कांग्रेसले कुन कुन मन्त्रालय पाउने हो भन्ने टुंगो पनि लागिसकेको छैन । यो विषय प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि टुंग्याउने गठबन्धन दलहरूको तयारी छ । तर, यो विषय किन पनि पेचिलो बन्ने देखिन्छ भने गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफूले धेरै त्याग गरेकाले आफूले रोजेको मन्त्रालय पाउनुपर्ने बताउन थालेको छ । त्यसको अर्थ नेकपा एसले गृह वा अर्थमध्ये एक मन्त्रालय पाउनुपर्ने दाबी गर्न सक्छ ।
यसरी हेर्दा एकातर्फ गठबन्धनभित्र मन्त्रालय भागवण्डा अबको पेचिलो विषय बन्ने देखिएको छ भने अर्कातर्फ कांग्रेस भित्रै पनि यसलाई मिलाउन सहज देखिएको छैन ।
देउवाले बोलाए बैठक
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आतबार बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने पौडेलले जनाएका छन् । उनका अनुसार आइतबार बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने पौडेलले बताए । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई उक्त बैठकमा उपस्थित हुन भनिएको छ ।