काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ सय ७९ जनाले कोरोना भाइरस (कोडिभ– १९) जितेर डिस्चार्ज भएको जानकारी दिएको छ ।
हालसम्म नेपालमा ३९ हजार ५ सय ७६ जना संक्रमितहरु निको भएको जानकारी दिएको हो । मन्त्रालयले सोमबार १० हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएको छ ।
मन्त्रालयले कोरोना जितेर डिस्चार्ज हुनेहरु ७१.५ प्रतिशत रहेको पनि जनाएको छ ।
यस्तै पछिल्लो ३४ घण्टामा १ हजार १ सय ७० जना संक्रमितहरु थपिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको जनाएको छ । त्यस्तै ७ हजार २ सय ७५ जना होमआइसोलेसनमा रहेको, ८ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेको तथा ६ हजार ८ सय ९२ जना क्वारिन्टिनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । काठमाडौंमा ४ सय ४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना गरी उपत्यकामा ५ सय १२ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसै गरी मन्त्रालयले प्रदेश १ का मोरङ र सुनसरी, प्रदेश २ को सर्लाही, प्रदेश ३ को काठमाडौं, चितवन र भक्तपुर तथा प्रदेश ५ को रुपन्देहीमा ५ सय जनाभन्दा बढी संक्रमितहरु रहेको जानकारी दिएको छ ।
त्यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा र मुगु गरी ६ जिल्लामा कोरोना संक्रमितहरुको संख्या शून्य रहेको पनि जानकारी दिएको छ ।