उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गरेका छन् । अनुगमनसँगै श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेक थिए ।
गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।
रिपोर्टिङ सुनिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिए ।
निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए ।
'अन्तराष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो,' श्रेष्ठले भने, 'यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ ।'
विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुवैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको श्रेष्ठले बताए । पर्यटकको प्रवेशद्वार आफैँमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा श्रेष्ठको थियो । त्यस्तै विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उनले बताए ।
राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामुहिकता एवम् अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको समेत सुधार हुनसक्नेमा उपप्रधानमन्त्री श्रेष्ठले सचेत गराए ।