आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भयो । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै प्रसाईंसँग उक्त रकम मागेको अडियोमा सुन्न सकिन्छ ।
यो विषयले राजनीति तरंगित बन्यो । यसैक्रममा बाराको चुनावी सभालाई सम्बोधन गर्न पुगेका रास्वपाका सभापति रवि लामिछानेले उक्त अडियो प्रकरणमा आफूले ७२ घण्टाभित्र अनुसन्धान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको अभिव्यक्ति दिए ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि श्रेष्ठलाई तत्कालका लागि निलम्बन गर्दै सांसद र पार्टीको साधारण सदस्यका हैसियतले कुनै कामकारबाही गर्न रोक लगाएको छ । साथै पार्टीको अनुशासन समितिलाई यसबारेमा छानबिन गर्न निर्देशन दिएको छ ।
अडियो सार्वजनिक भएसँगै श्रेष्ठ र रास्वपाको आलोचना भइरहेको छ । यसै सन्दर्भमा श्रेष्ठले उक्त अडियोमा आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । तर, प्रसाईंले भने उक्त अडियो श्रेष्ठकै भएको दाबी गरिरहेका छन् ।
श्रेष्ठको सचिवालयले उक्त सम्वादमा बोल्ने व्यक्ति श्रेष्ठ नभएको र सम्पादन गरेर राजनीतिक भविष्यलाई लक्षित गरेर प्रहार गरिएको दाबी गरेको छ ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठको लेटरप्याडमा उनको सचिवालयले एक विज्ञप्ति निकाल्दै उक्त अडियो श्रेष्ठको नभएको दाबी गरेको छ । 'मिति २०७९/१२/२६ गते एक अनलाइन मिडियाले मा. डा. ढाकाकुमार श्रेष्ठ र अर्को एक जना व्यक्तिबीच फोन सम्वाद गरेको र सो सम्वादमा बोलेका अभिव्यक्तिहरू मा. डा. ढाकाकुमार श्रेष्ठ नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा मा. डा. ढाकाकुमार श्रेष्ठको राजनैतिक भविष्यलक्षित गरी गरिएको षड्यन्त्र हो ।'
साथै आफूहरू विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि जनाइएको छ ।