काठमाडौं । योसिहिदे सुगा जापानको प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएको छ । उनलाई जापानको सत्तारुढ दलले आफ्नो नयाँ नेता चुनेपछि यस्तो सम्भावना बढेको हो ।
सिन्जो आबेले आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानको प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यससँगै जापनको सत्तारुढ दलले सुगालाई आफ्नो नयाँ नेता चुनेको हो ।
जापानको संसदमा यही बुधबार भोटिङ हुनेछ । जापानको सत्तारुढ दलमा रहेको मतका आधारमा सुगा प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै देखिन्छ ।
७१ वर्षीय सुगालाई आबेको निकटवर्ती नेताका रुपमा हेरिन्छ । त्यसैले उनले आबेले अघि बढाएका नीतिलाई नै निरन्तरता दिने सम्भावना बढी रहेको विश्लेषकहरुले अनुमान गरेका छन् ।
सुगा जापानको राजनीतिमा दबदबा राख्ने परिवारका सदस्य होइनन् । उनी स्ट्रवेरी किसानका छोरा हुन् । त्यसैले जापानको शीर्ष राजनीतिक तहसम्मको उनको यात्रा राजनीतिक पहुँचयुक्त परिवारभन्दा भिन्न रहेको बिबिसीले विश्लेषण गरेको छ ।
सुगा सन् १९९६ मा पहिलो पटक जापानको संसद चुनिएका थिए । त्यसअघि सन् १९८७ मा योकोहोमा सिटी काउन्सिलको लागि चुनिएका थिए ।
सुगा सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रीमण्डलमा सञ्चार विभागको वरिष्ठ उपमन्त्री बने ।
त्यसपछि प्रधानमन्त्री बनेका आबेले सुगालाई बरिष्ठ मन्त्री चयन गरे । उनी सन् २००७ सम्म उक्त पदमा रहे ।
पछिल्लो ८ वर्षसम्म आबेको विश्वासपत्रका रुपमा रहेका उनी सन्र २०१२ मा आबे पुनः प्रधानमन्त्री बनेपछि सुखा मुख्या क्याबिनेट सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरे ।
जब अगष्ट २८ मा आबेले स्वास्थ्यका कारण पद त्याग गर्ने घोषणा गरे तब सुगालाई उनको उत्तराधिकारीका रुपमा हेरिन थालिएको थियो । कतिसम्म भने सेप्टेम्बर २ मा सुगाले औपचारिक रुपमा आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्नुअघि नै सत्तारुढ दलको कतिपय नेताले उनलाई समर्थन दिने घोषणा गरिसकेका थिए ।