प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन् ।
शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
'बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।'
भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा सरकार निर्मम बन्ने बताए । 'भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ,' प्रचण्डले भने ।
अर्थतन्त्र धरासयी नै हुन्छ कि भन्ने जोखिम रहेको भए पनि आफू नेतृत्वको सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको प्रचण्डको जिकिर थियो । उनले आफ्नो भारत भ्रमणका क्रममा ऐतिहासिक महत्वका समझदारी भएको उल्लेख गरे ।
'यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन,' प्रचण्डले भने ।
भारतसँग भएको विद्युत् व्यापार सम्झौता सामान्य विषय नभएको प्रचण्डको भनाइ छ । 'पारवाहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो । विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन,' प्रचण्डले भने, '१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत् व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ । यो आउने पिँढीले पनि सम्झिरहने काम हो ।'
आफूले राष्ट्र र जनताप्रति इमान्दार भएको काम गरेको उल्लेख गर्दै प्रचण्डले गठबन्धनको सरकार पाँचै वर्ष चल्ने दाबी गरे । 'राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु । छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,' प्रचण्डले भने, 'गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।'
एयर रूटका लागि भारतसँग कुरा गरिएको उल्लेख गर्दै प्रचण्डले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए । 'एयररूटका लागि भारतसँग कुरा गरिएको छ । छिट्टै त्यो निष्कर्षमा पुग्छ । चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ,' प्रधानमन्त्रीले भने ।
भ्रष्टाचारको विरुद्धमा प्रहरीले थालेको अनुसन्धान अगाडि बढीरहने र नरोकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 'प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ । यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ,' प्रचण्डले भने ।