प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
नारायणविलास जोशीको ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए ।
‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौँ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौँ,’ प्रचण्डले भने ।
देशका वामपन्थीहरूलाई एकताबद्ध गरेर आम श्रमजीवी जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने आफूहरुको संकल्प रहेको उनको भनाइ छ ।
‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशब्यापी स्वरुप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरूलाई एकताबद्ध गर्यव भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर जान सकिन्छ र समाजवादतिर पनि देशलाई डोर्याउन सकिन्छ भनेको थिएँ,' प्रचण्डले भने ।
त्यसबेला नेकपा बन्दा झण्डै दुईतिहाइ मत पाएको स्मरण गर्दै प्रचण्डले आम जनतामा त्यसले उत्साह जगाएको पनि बताए । त्यतिबेला कम्युनिष्ट समर्थक र शुभेच्छुकमा ठूलो उत्साह र उभार देखापरेको प्रचण्डको भनाइ छ ।
त्यसले 'प्रतिक्रियावादी'हरूमा आतंकजस्ता सिर्जना गरे पनि आफूहरूले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेको टिप्पणी गरे ।
'प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतंक जस्तो भयो । तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ,' प्रचण्डले भने, 'त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन ।'
तत्कालीन समयमा पार्टी एकता बचाउन नसकेको दोष आफूले कसैलाई पनि नलगाउने प्रचण्डको भनाइ छ । उनले एकपट असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्नेमा जोड दिए ।
'म यसमा कसैलाई दोषारोपण गर्दिनँ । हामी एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ,' प्रचण्डले भने, 'किनकी विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियमअनुसार नै अगाडि बढेको छ ।’