प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रयास गरेका छन् । मन्त्रालय भागवण्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको जनमतलाई सरकारमा पुनः सहभागी गराउन प्रचण्डले प्रयास गरेका हुन् ।
सुरुमा जनमत सरकारमा सहभागी भएको थियो । कृषि र उद्योगमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको जनमतले खानेपानी मन्त्रालय पाएको थियो । तर, पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि आफूले भनेअनुसार मन्त्रालय नपाएको भन्दै जनमतले सरकार छाडेको थियो ।
प्रधानमन्त्री प्रचण्डले सुरुमा पछि मिलाउला भनेर आफूहरूलाई कन्भिन्स गरे पनि पटकपटकको मन्त्रिपरिषद् पुनर्गठनमा पनि बेवास्ता गरिएको भन्दै जनमतले सरकार छाडेको थियो । सरकार छाडे पनि जनमतले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड र जनमतका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको थियो । प्रचण्डले उक्त भेटमा जनतमका अध्यक्ष राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । उता राउतले पनि सरकारमा सहभागी हुने विषयमा आफूहरू नकारात्मक नरहेको प्रतिक्रिया दिएको स्रोतले जानकारी दियो ।
यद्यपि जनमतले मन्त्रालय भागवण्डामा आफूलाई उपेक्षा गरिएको गुनासो गर्दै आएको थियो । उता जनमत सरकारमा सहभागी भए प्रचण्डले जनमतका लागि मन्त्रालय खाली गर्न पार्टीबाट मन्त्री बनेकामध्ये एक जनालाई फिर्ता बोलाउनुपर्ने हुन सक्छ । प्रचण्ड त्यसका लागिसमेत तयार रहेको बुझिएको छ ।
स्रोतहरूले दिएको जानकारीअनुसार त्यसरी निर्णय गर्नुपर्ने अवस्था आएमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी या संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एक जनालाई फिर्ता बोलाउनुपर्ने अवस्था आउनसक्ने बताइएको छ ।