काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चालु शैक्षिक सत्रदेखि काठमाडौ महानगरपालिका स्वयंले छात्रवृत्ति पाउने विद्यार्थीहरूको छनोट गर्ने बताएका छन् ।
आइतबार बालेनले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि महानगर आफैँले विद्यार्थी छनोट गर्ने जानकारी दिएका हुन् ।
त्यसका लागि महानगरपालिका आफैँले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्नेछ । त्यसरी छनोट भएका विद्यार्थीहरूलाई सम्बन्धित क्याम्पस तथा विद्यालयहरूमा कक्षा ११ मा भर्नाका लागि महानगरले सिफारिस गर्ने भएको छ ।
उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने बताएका हुन् ।
यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यसअघि पनि बालेनले निजी विद्यालयहरूलाई निःशुल्क पठाउनुपर्ने १० प्रतिशत विद्यार्थीसंख्याको विवरण पठाउन भनेका थिए ।
बालेनले के भनेका छन् ?
काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।