सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका थापालाई मुख्यमन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बैठकको निर्णयबारे जानकारी दिए ।
'हामी गठबन्धनमा भएको दलहरूका तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने र केही खाली सिटका विषयमा सल्लाह गरेर निर्णय गर्ने सहमति भयो,' पाण्डेले भने ।
उक्त प्रदेशमा गत शुक्रबार नेकपा (एमाले) नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भए । प्रदेशप्रमुख परशुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरे ।
कोशीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गर्दै आएका थिए । तर, सोमबार बालुवाटारमा बसेको बैठकले थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।
गठबन्धनले सहमति गरे पनि थापाले अब आफ्नो पक्षमा बहुमत जुटाउन राप्रपालाई आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । त्यसो नभएसम्म गठबन्धनको पक्षमा बहुमत पुग्ने अवस्था छैन ।
कोशीमा गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा सबैको जोड्दा ४६ सांसद मात्रै हुन्छ । कोशीमा सरकार बनाउनका लागि ४७ सांसद आवश्यक हुन्छ । त्यसैले मुख्यमन्त्री बन्नका लागि थापाले थप एक सांसद जुटाउनुपर्ने आवश्यकता छ ।