काठमाडौं । सुरुमा आफैँले व्यहोर्ने चाहना राखेको उपचारखर्च सरकारसँग मागेपछि राष्ट्रपति रामचन्द्र पौडेल विवादमा तानिएका छन् । १९ वैशाखमा शितल विज्ञप्ति निकालेर भारतको एम्स अस्पतालमा लागेको उपचार खर्च राष्ट्रपति पौडेल आफैँले व्यहोर्ने इच्छा राखेको उल्लेख छ ।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कील जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।
तर, यसविपरीत राष्ट्रपति पौडेलको भारतमा उपचार गराउँदा लागेको खर्च सरकारी ढुकुटीबाट व्यहोर्ने प्रक्रिया अगाडि बढेपछि पौडेलको आलोचना भइरहेको छ । उपचारका लागि ६ वैशाखमा भारत गएका पौडेल १७ वैशाखमा नेपाल फर्किएका थिए ।
त्यसबेला नेपालमा उपचार नगराएर विदेश गएको भन्दै राष्ट्रपतिको धेरैले आलोचना गरेका थिए । राष्ट्रपतिको आलोचना हुन थालेपछि शितल निवासले सम्भवतः त्यसलाई मत्थर पार्नका लागि उपचार खर्च राष्ट्रपति स्वयंले व्यहोर्ने जनाएको थियो ।
तर, अहिले आएर राष्ट्रपतिको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने प्रक्रिया अगाडि बढाइएपछि पौडेल पुनः विवादित बनेका छन् । सामाजिक सञ्जालहरूमा उनको ट्रोल भइरहेको छ ।
दिल्लीमा राष्ट्रपतिको उपचार गराउँदा लागेको खर्च माग्दै बिलसमेत अर्थ मन्त्रालयमा पुगेको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग्दै सोमबार अर्थ मन्त्रालयमा पत्र पठाएको हो ।
उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेस भएको जनाएको छ ।
‘त्यसअनुसार उक्त रकम भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको छ’, परराष्ट्रको पत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ मात्रै तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाइएको छ । असार १८ गतेको सचिवस्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजात यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ ।’