यतिबेला नेकपा ब्युँताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरू नै यसमा सक्रिय देखिन्छन् ।
यतिसम्म कि आम चुनाववाट प्राप्त जनादेशअनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरू नै वामपन्थी एकताको कुरा गर्न थालेका छन् ।
नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा (एमाले) का विरुद्धमा घेराबन्दी गर्नेहरूले नेकपा ब्युँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु 'काशी जानु कुतीको वाटो' भने झै हो ।
नेकपा (एमाले) यस्ता बेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।
अब नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुवीकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरूलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ ।
तर, त्यो असफल भइसकेको नेकपाको पुनर्स्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ । तसर्थ अब नेताहरूको टाउका जोडेर होइन भविष्य भएका युवाहरूको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने बाटोमा अघि बढ्न सक्नु पर्दछ ।
अहिले जस्तो जनमत गुमाएकाहरूले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ ।
नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिक रूपमा नयाँ ढंगले अघि बढ्न प्रतिबद्ध छ ।
अब हरेकले महसुस गर्ने बेला भयो- विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।
फेसबुकबाट