काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शनिबार बसेको छ । आजको बैठकको अध्यक्षता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरे ।
मोर्चामा एकीकृत समाजवादीसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा आवद्ध छन् । चार दलका शीर्ष नेताहरूले ४ असारमा काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी मोर्चाको घोषणा गरेका थिए ।
आजको बैठकमा चारै दलका शीर्ष नेता सहभागी थियो । अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवलगायत ती दलका अन्य नेताहरूको पनि उपस्थिति थियो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार मोर्चाले साउनभित्रै सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने निर्णय लिएको छ । मोर्चाको सन्देश जनतासम्म पुर्याउनका लागि उक्त कार्यक्रम आयोजना गरिन लागिएको पाण्डेले बताए ।
तर, सभाको मिति भने तय भइनसेकेको र अर्को बैठकले त्यसबारे निर्णय लिने पाण्डेको भनाइ छ । 'साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ', पाण्डेले भने ।
मोर्चाले प्रदेश राजधानीमा आयोजनाको मिति र आचारसंहिता तय गर्न चारै दलको प्रतिनिधित्व हुने गरी चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
आजको बैठकले मोर्चाको भावी रणनीति तयार गर्ने जिम्मेवारी पनि सोही कार्यदललाई दिएको छ । उक्त कार्यदलले मोर्चाको नीतिगत दस्तावेज लेखनसम्मको जिम्मेवारी पाएको पाण्डेको भनाइ छ ।
आजको बैठकले मोर्चाको नेतृत्वसम्बन्धी विषय पनि टुंग्याएको छ । ६/६ महिनामा फेरिने गरी चारै दलले आलोपालो रूपमा मोर्चाको नेतृत्व सम्हाल्नेछन् ।